
रामबाबु सहनी रौतहट
१७ भदौ २०८२
रौतहट – सुनसरीको झुम्का कारागारमा दुई कैदी वन्दीको मृत्यु भएको छ।मृत्यु हुनेमा धरानका २४ वर्षीय सागर राई र गढी गाउँपालिका–६ का ४८ वर्षीय रामदेव उराँवको मृत्यु भएको छ।
उराँव कर्तव्य ज्यानको मुद्दामा कैद भुक्तान गरिरहेका थिए भने सागर राई लागु औषध मुद्दामा पुर्पक्षका लागि कारागारमा बन्दी बस्दै आएका थिए।
शनिबार राति स्वास्थ्यमा समस्या देखिएपछि उराँवलाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो। उपचारको क्रममा सोमबार बिहान उनको मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ।
त्यस्तै, राईलाई पनि श्वासप्रश्वासमा समस्या, बान्ता र शरीर नचल्ने लक्षण देखिएपछि स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो। उपचारका क्रममा आज बिहान साढे ८ बजे उनको मृत्यु भएको पुष्टि गरिएको छ।
मृतक दुवैको शव आफन्तले बुझिसकेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाले जानकारी दिएको छ।
एकै दिन दुई कैदीको मृत्यु भएपछि जिल्ला सुरक्षा समिति सुनसरीले कारागार अनुगमन गरी तत्काल स्वास्थ्य शिविर सञ्चालन गर्न कारागार प्रशासनलाई समेत निर्देशन दिएको छ।
सीडीओ धमेन्द्र मिश्रका अनुसार, सुरक्षा समितिले कारागारको दुवै ब्लकमा रहेका कैदीहरूको स्वास्थ्य विवरण संकलन गर्ने र गम्भीर स्वास्थ्य समस्या भएका कैदीलाई स्थानान्तरण गर्ने योजना बनाइरहेको छ।
झुम्का कारागारमा हाल दुवै ब्लकमा गरी १ हजार ७ सय ९४ जना कैदी रहेका बताए