२०८२असोज २
रामबाबु सहनी रौतहट
जेनजी युवा आन्दोलनका क्रममा विभिन्न स्थानमा लुटपाट गरिएको सामानहरुको खरिद–बिक्री नगर्न जिल्ला प्रहरी कार्यालय रौतहटले सर्वसाधारणलाई आग्रह गरेको छ।
आन्दोलनका आडमा सरकारी तथा निजी भवन, बैङ्क, वित्तीय संस्था, र व्यापारिक प्रतिष्ठानहरूबाट लुटिएका बहुमूल्य सामग्री बजारमा खरिद बिक्री भइरहेको सूचनाका आधारमा प्रहरीले यो कदम चालेको हो।
बिहीबार एक सूचना जारी गर्दै जिल्ला प्रहरी कार्यालयल रौतहटले आन्दोलनका क्रममा लुटिएका सुनचाँदीका गरगहना, ऐतिहासिक दस्ताबेज, हातहतियार र नगद लगायतका सामानहरू अवैध रूपमा बजारमा बिक्री भइरहेको जानकारी दिएको छ।
प्रहरीले त्यस्ता सामानहरू बिना कुनै आधिकारिक बिल भरपाई किनबेच नगर्न सबैलाई अनुरोध गरेको छ ।प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी राजु कार्कीले जारी गरेका सूचनामा , ‘बिल भरपाई बिनाका सुनचाँदीका गरगहना तथा अन्य कुनै पनि सामग्री खरिद–बिक्री नगर्न/नगराउन हुन र त्यस्तो कुनै सूचना पाएमा तत्काल प्रहरीलाई खबर गर्न सम्बन्धित सबैमा यो सूचना प्रकाशित गरिएको हो।’
प्रहरीले विशेषगरी व्यापारीहरूलाई सचेत गराउँदै, लुटिएका सामानहरू विभिन्न पसलमा आउन सक्ने सम्भावना रहेको छ ।
नेपाल प्रहरीले यस विषयमा गम्भीरताका साथ अनुसन्धान गरिरहेको र लुटिएका सामानको किनबेचमा संलग्न व्यक्तिहरूलाई कानुनी कारबाही गरिने जनाएको हो ।
यो सूचनाले हालैको जेनजी आन्दोलनका क्रममा भएको अराजकतालाई थप उजागर गरेको छ, जहाँ शान्तिपूर्ण विरोध प्रदर्शनको आवरणमा आपराधिक गतिविधि भइरहेको देखिन्छ।
यसले गर्दा सर्वसाधारण र व्यापारी दुवैलाई सतर्क रहन र समाजमा उत्पन्न हुने कुनै पनि अवैध गतिविधिको सूचना नजिकको प्रहरी चौकी वा ईलाका प्रहरी कार्यालयमा दिन जिल्ला प्रहरी कार्यालय रौतहटले अपेक्षा गरिएको छ ।
