२०८२ असोज १८
रामबाबु सहनी रौतहट
जल तथा मौसम विज्ञान विभागले पछिल्लो १२ घण्टामा रौतहटमा सबैभन्दा बढी वर्षा भएको जनाएको छ ।
विभागको पछिल्लो विवरण अनुसार महेशपुरा रौतहटस्थित जलमापन केन्द्रमा गएको १२ घण्टामा ३ सय २८ दशमलव ६ मिलिमिटर वर्षा भएको रेकर्ड गरिएको छ।
रौतहटकै गौर मापन केन्द्रमा ३ सय ५ र गरूडा जलमापन केन्द्रमा २ सय ७३ दशमलव ४ मिलिमिटर वर्षा मापन भएको छ।
पर्साको वीरगञ्जमा यही अवधिमा २ सय ४७ मिलिमिटरभन्दा बढि वर्षा मापन भएको छ भने बाराको कलैयामा २ सय ३३ दशमलब २ मिलिमिटर वर्षा मापन भएको छ।
विभागका अनुसार बारा, पर्सा, रौतहट, सर्लाही र महोत्तरीमा सर्वाधिक वर्षा भएको छ जहाँ सतर्कता तहभन्दा बढी वर्षा भएको रेकर्ड भएको छ।
यस्तै ललितपुर, सिन्धुली र मकवानपुरमा पनि सतर्कता तहभन्दा माथि वर्षा मापन गरिएको छ।
मौसम विज्ञान विभागले यी जिल्लाका नदी र त्यस आसपासका बासिन्दालाई सावधानी अपनाउन र सुरक्षित स्थानमा बस्न आग्रह गरेका छन। हाल देशभर बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण वर्षा भइरहेको तथा फेरि अर्को प्रणाली पनि सक्रिय हुने सम्भावना रहेकोले आज राति पनि धेरै स्थानमा वर्षा हुने विभागले जनाएको छ ।
