रामबाबु सहनी राैतहट,२०८२ जेठ २८ गते ।
रौतहटकाे गरुडा नगरपालिका–८ स्थित बिर्ता चौक नजिक मस्जिदको छेउमा जनता समाजवादी पार्टी नेपाल (जसपा) का केन्द्रीय सल्लाहकार समिति सदस्य राजकुमार दासमाथि एक आपराधिक समूहले संघातिक आक्रमण गरेको छ । शुक्रबार साँझ ६:३० बजे भएको उक्त घटनाप्रति जसपा, मधेस प्रदेश समितिले गम्भीर ध्यानाकर्षण जनाएको छ ।

प्रदेश अध्यक्ष बालकिशोर प्रसाद यादवद्वारा जारी प्रेस विज्ञप्तिमा घटनाको कडा भर्त्सना गर्दै दोषीमाथि कडा कारबाहीको माग गरिएको छ । “यस्तो आपराधिक गतिविधिले लोकतान्त्रिक राजनीतिमा खलल पुर्याउने खतरा उत्पन्न भएको छ,” विज्ञप्तिमा उल्लेख छ, “संबन्धित निकायले यथाशीघ्र दोषी पहिचान गरी कानूनी दायरामा ल्याउनु पर्छ।” यस घटनाले स्थानीयस्तरमा त्रासको वातावरण सिर्जना भएको छ भने सुरक्षाको सवालमा गम्भीर प्रश्न उठेको जनगुनासो छ। प्रहरी प्रशासनले घटनाको अनुसन्धान अघि बढाएको जनाएको छ
