रामबाबु सहनी, २०८२ जेठ ३०, शुक्रवार
रौतहट । भारतीय नागरिक रहेको भए पनि झूटा विवरण प्रस्तुत गरी नेपाली नागरिकता लिएको आरोपमा उजुरी परेको दुई वर्ष बितिसक्दा पनि कुनै कारबाही नभएको भन्दै उजुरीदाता रामबाबु सहनीले प्रशासनप्रति असन्तुष्टि जनाएका छन्।
रामबाबु सहनीले २०८० असोज २६ गते जिल्ला प्रशासन कार्यालय रौतहट गौरमा ठकुरी सहनी, शम्भु सहनी र कौसिला देवीविरुद्ध नागरिकता बदर तथा कानूनी कारबाहीको माग गर्दै निवेदन दिएका थिए। चलानी दर्ता नम्बर ३७१ रहेको सो उजुरी अहिलेसम्म अड्किएको उनको गुनासो छ।
निवेदन अनुसार, ठकुरी सहनी, शम्भु सहनी र कौसिला देवी भारतीय नागरिक भए पनि झूटा विवरण पेश गरी नेपाली नागरिकता लिएका छन्।
ठकुरी सहनी बिहार राज्य, सितामढी जिल्ला, परसौनी पंचायतका स्थायी बासिन्दा हुन्। उनी भारतको निर्वाचक नामावलीमा क्र.सं. ६२९ मा दर्ता छन् र भारतीय निर्वाचन आयोगबाट मतदाता परिचयपत्रसमेत लिएका छन्। तर, उनले झूटा विवरण पेश गरी ना.प्र.न. ३२३०८३-०४ बाट नेपाली नागरिकता लिएको उजुरीमा उल्लेख छ।

शम्भु सहनी भारतकै नागरिक भई भारतको निर्वाचक नामावलीमा क्र.सं. ६३० मा दर्ता छन्। उनले ना.प्र.न. ३२१०८३-४०७३ बाट नेपाली नागरिकता लिएको आरोप छ।
कौसिला देवी भारतको निर्वाचक नामावलीमा क्र.सं. ६२८ मा दर्ता छन्। उनीसँग भारतीय मतदाता परिचयपत्र छ, तर उनले ना.प्र.न. ३२३०८३-८०३ बाट नेपाली नागरिकता लिएको उजुरीमा दाबी गरिएको छ।
रामबाबु सहनीले उजुरीसँगै भारतीय निर्वाचक नामावली, भारतीय मतदाता परिचयपत्र, विपक्षीहरूले लिएको नेपाली नागरिकताको प्रमाणपत्र, ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरको पत्र तथा आफ्नो नागरिकता प्रमाणपत्र पेश गरेका थिए।
यस विषयमा जिल्ला प्रशासन कार्यालय रौतहटको पत्रअनुसार, ठकुरी सहनीको नेपाली नागरिकता प्रमाणपत्रको अभिलेख उपलब्ध गराइएको छ। तर, कौसिला देवीको नागरिकता अभिलेखमा फोटो टाँस गरिएको प्रमाणित नभएको र कुनै विवरण उल्लेख नभएको प्रशासनले जनाएको छ।
तर, उजुरी परेको दुई वर्ष बितिसक्दा पनि कारबाही नहुँदा उजुरीदाता प्रशासनसँग निराश छन्। उनले छानबिन गरेर दोषी प्रमाणित भएमा नागरिकता बदर गर्दै कानूनी प्रक्रिया अघि बढाउन माग गरेका छन्। अब प्रशासनले यस विषयमा के कदम चाल्छ भन्ने प्रतीक्षा छ।
