काठमाडौँ, ४ असार २०८२।
रौतहटको बहुचर्चित राजपुर बमकाण्ड प्रकरणमा उच्च अदालत वीरगञ्जले नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद मोहम्मद आफताब आलमलाई सफाइ दिएको छ। तर, अदालतको यस निर्णयसँगै मृतक त्रिलोकप्रताप सिंहका ८४ वर्षीय पिता श्रीनारायण सिंह झनै पीडित बनेका छन्।
२०६४ चैत २७ गते राति भएको बम विस्फोटमा घाइते भएका त्रिलोकप्रताप सिंह लगायतलाई ज्यान मारेर इँटाभट्टामा हालेर जलाइएको थियो भन्ने अभियोगमा आलमसहितका व्यक्तिमाथि मुद्दा चलाइएको थियो। जिल्ला अदालत गौरले आलमलाई जन्मकैदको सजाय सुनाएको थियो। तर, उच्च अदालत वीरगञ्जले गत साता आलमलाई साक्ष्य अभाव भन्दै सफाइ दियो।
यो फैसलापछि न्यायमा भरोसा गुमेको भन्दै वृद्ध श्रीनारायण सिंह काठमाडौँ आएर न्याय परिषद्मा उजुरी दर्ता गराएका छन्। उनले फैसला सुनाउने उच्च अदालतका न्यायाधीश खुशीप्रसाद थारू र अर्जुन महर्जन माथि छानबिन गरी कारबाही गर्न माग गरेका छन्।
वृद्ध सिंहको प्रश्न छ — ‘ज्यान मारेकालाई सफाइ दिने गलत फैसला गर्ने न्यायाधीशमाथि कहिले कारबाही गर्छन् प्रधानन्यायाधीशले ?’
उनले भन्नुभयो, ‘मैले न्यायको लागि १६ वर्ष लडें, मेरो छोरा निर्दोष मरे। अहिले अदालतले हत्यारा छुटायो। न्यायाधीशले गलत निर्णय गर्दा उनीमाथि कारबाही किन हुँदैन ?’
परिवारका अनुसार फैसलापछि उनीहरू पुनरावलोकनका लागि उच्च अदालतमा निवेदन दिने तयारीमा छन्। साथै, दोषीमाथि फेरि कारवाहीको माग गर्दै अन्य कानुनी बाटोहरू पनि खोज्ने बताएका छन्।
यो घटनाले मुलुकको न्यायिक प्रणालीमाथि फेरि एक पटक प्रश्न उठाएको छ।
