रामबाबु सहनी रौतहट
२०८२ साउन २ रौतहट: गरुडा नगरपालिका–९ स्थित श्री माध्यमिक विद्यालय नयाँ गम्हरियामा कार्यरत शिक्षक रवीन्द्र प्रसाद साहलाई विद्यालयबाट खारिज सहित निष्कासन गरिएको छ । साहले कक्षा १० मा अध्ययनरत एक १६ वर्षीया छात्रालाई मोबाइलमार्फत ‘ह्यापी बर्थडे मेरी जान’ भन्ने आपत्तिजनक सन्देश पठाएको आरोपमा विद्यालयले उनलाई हटाउने निर्णय गरेको हो ।
विद्यालयका निवर्तमान व्यवस्थापन समिति अध्यक्ष राजकुमार दासका अनुसार असार २९ गते वडाध्यक्ष राजेश कुमार सहनीको संयोजकत्वमा बसेको वडा समिति, स्थानीय अभिभावक, विभिन्न राजनीतिक दलका प्रतिनिधि र समाजसेवीहरूको बैठकले उक्त निर्णय गरेको हो । पीडित छात्राका अभिभावकले दिएको उजुरीका आधारमा विगत एक वर्षदेखि शिक्षक साहले यौनजन्य मनसाय राखी डिजिटल सन्देश पठाउँदै आएको खुलासा भएको बैठकले जनाएको छ । ४९ वर्षीय साहले कक्षा ७ सम्म अंग्रेजी र कक्षा ९ लाई सामाजिक विषय अध्यापन गर्दै आएका थिए । सन्देश सार्वजनिक भएपछि विद्यार्थीहरू आक्रोशित बनेका थिए र विद्यालय परिसरमै प्रदर्शन समेत गरेका थिए । ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजन कार्कीका अनुसार साहविरुद्ध अभद्र व्यवहार सम्बन्धी मुद्दा दर्ता गरी सात दिनको म्याद लिइएको छ । उनलाई गत आइतवार पक्राउ गर्न खोज्दा विद्यार्थीहरूले विरोधस्वरूप ढुङ्गामुढा गरेपछि प्रहरीले एक राउण्ड अश्रुग्यास प्रहार गर्नुपरेको थियो ।
त्यस क्रममा चार जना प्रहरी सामान्य घाइते भएका थिए । एक स्थानीय बासिन्दाका अनुसार साह यसअघि २०६२/६३ सालतिर पनि यस्तै किसिमको दुर्व्यवहारमा संलग्न भएका थिए र सामाजिक दण्ड भोगेका थिए । तर कानुनी कारबाही नभएकाले यस्ता व्यवहार दोहोरिएको आरोप लागेको छ । स्थानीय सर्फलाल पासवानले भने गरुडा नगरपालिकाले शिक्षक साहलाई जोगाउन प्रयास गरिरहेको आरोप समेत लगाएका छन् ।
राहत शिक्षक साह राहत निमावि दरबन्दीका करार शिक्षक हुन् । निज शिक्षकको नियुक्ति प्रक्रिया कानुन संवत् नभएर दिएको उजुरी आधारमा २०७२ मा अख्तियारले समेत बर्खास्त गरेका थिए तर पनि पुनः विद्यालयले सोही पदमा विज्ञापन निकाली तत्कालीन विव्यास अध्यक्ष राजकुमार दास तत्माले रवीन्द्र प्रसाद साह लाई नियुक्ति गरेका थिए ।
यता स्थानीय अभिभावक, समाजसेवी र विद्यार्थीहरू शिक्षक साहलाई कडा कानुनी कारबाहीको माग गर्दै पीडित छात्राको मनोवैज्ञानिक सुरक्षाका लागि तत्काल कदम चाल्न आग्रह गरिरहेका छन् । विद्यालयले शिक्षकको आचरणविरुद्ध कडा निर्णय लिएपछि स्थानीयले स्वागत गरे पनि अब कानुनी प्रक्रिया पनि निष्पक्ष हुनुपर्ने पीडित परिवारको माग छ ।
